विराटनगर– नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यले उद्योग क्षेत्रमा रहेको लोडसेडिङ यस वर्ष हटाउन विद्युत प्राधिकरण असमर्थ रहेको बताएका छन् । मोरङ उद्योग व्यापार संघ विराटनगरमा बिहीबार कार्यकारी निर्देशक शाक्यले यस वर्ष लोडसेडिङ हटाउन नसकिने तर आउँदो वर्ष पनि यस्तै लोडसेडिङ रहन नदिन भारतबाट २५०÷३०० मेगावाट विजुली ल्याउने सम्झौताका लागि प्रक्रिया अघि बढाएको बताएका हुन् ।

‘गत वर्ष तत्कालिन कार्यकारी निर्देशक कुलमान घिसिङले मन्त्रीसँगको टकरावले भारतसँग सुख्खा अर्थात् गर्मीयाममा विद्युत ल्याउने सम्झौता पत्रमा हस्ताक्षर नगर्दा यस वर्ष अहिले दैनिक देशभरि ७०० मेगावाट विजुली अभाव हुँदै आएको छ,’ उनले भने, ‘यस्तै अवस्था आउँदो वर्षमा पनि रहने भएकोले भारतबाट २५० देखि ३०० मेगावाट विद्युत खरिद प्रक्रिया अघि बढाउन पहल गरिरहेको छु । हरेक वर्ष ८०० देखि ९०० मेगावाट विद्युत बढ्दै गएको तर जाडोयाममा २००–३०० मेगावाट मात्रै उत्पादन हुने गरेको छ । वर्षेनी विद्युत उत्पादनसँगै डिमाण्ड पनि बढ्दै गएकोले ५०–६० मेगावाट मात्रै विद्युत वचत हुने गरेको अवस्थामा भारतबाट विद्युत ल्याउनुको विकल्प आउँदो वर्षसम्मका लागि छैन ।’ आउँदो वर्षमा जाडोयाममा अभाव हुने करिब ७०० मेगावाट विजुलीमध्ये २५० मेगावाट भारतबाट ल्याउने र करिब २५० मेगावाट संचित भएकोबाट गरी ५०० मेगावाट आपूर्ति गर्ने तयारी रहेको कार्यकारी निर्देशक शाक्यको भनाइ छ । आउँदो वर्ष पनि जाडोयाममा २५० मेगावाट विजुली देशमा अभाव नै रहने उनले प्रष्ट बताएका हुन् ।