विराटनगर– हरेक वर्ष विश्वभर करिब ६ लाख मानिसको ज्यान लिने मलेरियाविरुद्ध लड्न वैज्ञानिकहरूले नयाँ रणनीति विकास गरेका छन्। हार्वर्ड विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले यस्तो औषधि पत्ता लगाएका छन्, जसले रगत चुस्ने क्रममा पोथी लामखुट्टेलाई नै मलेरियामुक्त बनाउनेछ।
हाल प्रचलनमा रहेको उपचार विधिमा लामखुट्टे मार्न किटनाशक प्रयोग गरिन्छ, तर लामखुट्टेमा ती औषधिप्रति प्रतिरोधक क्षमता बढेसँगै यो विधि कमजोर हुँदै गएको छ। अब भने वैज्ञानिकहरूले झुलमा विशेष औषधिको लेप प्रयोग गरेर लामखुट्टेलाई परजीवीरहित बनाउने दीर्घकालीन समाधान प्रस्ताव गरेका छन्।
डा. एलेक्जेन्ड्रा प्रोब्स्ट नेतृत्वको टोलीले मलेरिया संक्रमित रगत चुस्ने पोथी लामखुट्टेमा २२ प्रकारका औषधिहरू परीक्षण गरे। तीमध्ये दुई औषधि अत्यन्त प्रभावकारी प्रमाणित भए—जसले लामखुट्टेको शरीरभित्र रहेका मलेरियाका परजीवीहरू १०० प्रतिशत नष्ट गर्यो।
'यदि लामखुट्टेले झुलबाट औषधि नचुसेर बाँचे पनि, उसले चुस्ने रगतमा रहेका परजीवीहरू मर्छन्। यसले मलेरिया फैलाउने चक्र नै तोड्न सक्छ,' अनुसन्धानकर्ता प्रोब्स्टले भनिन्। उनका अनुसार यी औषधिहरूले परजीवीहरूमा प्रतिरोधक क्षमता विकास गर्न गाह्रो बनाउने छन्, किनभने संक्रमित लामखुट्टेमा परजीवीको संख्या निकै कम हुन्छ।
वैज्ञानिकहरूका अनुसार यी औषधिहरूको प्रभाव झुलमा करिब एक वर्षसम्म रहन सक्छ, जसले गर्दा यो प्रविधि सस्तो, सरल र दीर्घकालीन समाधान बन्ने सम्भावना छ। यो प्रविधिले झुलमार्फत लामखुट्टे मार्ने मात्र होइन, मलेरियाको परजीवी समाप्त गर्ने काम समेत गर्नेछ।
हाल प्रयोगशालामा सफल देखिएको यो अनुसन्धानको अर्को चरण इथियोपियामा गरिनेछ, जहाँ वास्तविक अवस्थामा प्रयोगशाला परिणामहरूसँग मेल खाने कि नखाने परीक्षण हुनेछ।
वैज्ञानिकहरूका अनुसार, सम्पूर्ण अध्ययन पूरा भएर निष्कर्षमा पुग्न अझै कम्तीमा ६ वर्ष लाग्नेछ। तर उनीहरूको दीर्घकालीन दृष्टिकोण भनेको मलेरियाविरोधी औषधि र किटनाशक दुवै प्रयोग गरेर रोग नियन्त्रणलाई थप सुदृढ बनाउनु हो।
— बीबीसी स्रोत सामग्रीमा आधारित