विराटनगर– वैदेशिक रोजगारीको सपना देखाउँदै ठगी गर्ने नेटवर्कमा पूर्वी पहाडकी एक महिला सक्रिय रहेको प्रहरीलाई निरन्तर सूचना आइरहेको थियो । तर क्यानाडा पठाइ दिने प्रलोभन दिने नेटवर्कमा ती महिलाको दलाल वा मध्यस्थकर्ताको मात्र भूमिका देखिएकोले प्रमाण अभावमा प्रहरीले पक्राउ गर्न सकिरहेको थिएन ।

पीडितहरुलाई पनि ती महिलाको सही नाम र यकिन ठेगाना थाहा हुँदैन्थ्यो । नाम र टेलिफोन नम्बर समेत बदली रहने हुनाले उनलाई फेला पार्न सजिलो थिएन ।तर अपराधी जति धूर्त भए पनि गल्ति गरि नै हाल्छन् । अहिले सम्म ठगी गिरोहका अन्य सदस्यसँग लगेर पीडितलाई भेटाउने उनी यस पटक एक जनासँग सोझै रकम लिए पछि प्रहरी खोरमा पुगेकी छन् ।

एक व्यक्तिसँग ७ लाख रुपैयाँ ठगी गरेको आरोपमा सम्झना राईलाई अन्ततः प्रहरीले पक्राउ गरेको छ। खोटाङको वराहपोखरी गाउँपालिका–५ स्थायी घर भइ हाल टोखा नगरपालिकामा बसोबास गर्दै आएकी ३४ वर्षीया राईलाई उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले सोमबार काठमाडौँ–१६ बाट पक्राउ गरेको हो।

पीडितको उजुरी अनुसार राईले आफू क्यानाडामा रोजगारीको सुनिश्चित व्यवस्था गरिदिने भन्दै विश्वास दिलाइ उक्त रकम  लिएकी थिइन्। पीडितलाई विश्वास दिलाएर रकम हात पार्न उनले यस पटक सही नाम, ठेगाना र सबै फोन नम्बरहरु उपलब्ध गराएकी थिइन् । तर रकम लिएको केही समयमै उनी सम्पर्कविहीन भएपछि पीडितले प्रहरीमा उजुरी दिएका थिए।

प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा राई वैदेशिक रोजगारीको नाममा यसअघि पनि केही व्यक्तिसँग आर्थिक लेनदेनमा संलग्न रहेको आशंका गरिएको छ। उनको मोबाइल डाटा, बैंक खाताको विवरण र सामाजिक सञ्जालमार्फत अन्य पीडितको खोजी पनि भइरहेको छ।

राईलाई थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभागमा बुझाइएको छ।वैदेशिक रोजगारीको सपना नेपाली युवाहरूको एक साझा चाहना बनेको छ। विशेषगरी क्यानाडा, अष्ट्रेलिया, जापान, यूएई लगायतका देशमा आकर्षक तलब, राम्रो जीवनस्तर र भविष्य सुरक्षित हुने आशामा युवाहरू आकर्षित भइरहेका छन्। यस्तै आकांक्षा र जानकारीको अभावका कारण मानव तस्कर र ठगहरूको जालोमा नेपालीहरू परिरहन्छन्।

गुगलमा उपलब्ध सूचना र प्रहरी तथ्यांकअनुसार पछिल्लो २ वर्षमा मात्र वैदेशिक रोजगारीका नाममा यस्ता खाले ठगीको ३० भन्दा बढी घटना सार्वजनिक भइसकेका छन्। यीमध्ये धेरैजसो घटनामा ‘क्यानडा पठाइदिन्छु’ भन्ने आम लोभमा फसेको देखिन्छ। क्यानाडा सरकार वा क्यानाडाका नियमन निकायहरूसँग मिलेर विदेशी कामदार ल्याउने अधिकार नेपाली एजेन्टहरूसँग नभएको स्पष्ट भए पनि ठगी समूहले झुटा कागजात, नकली अफर लेटर र भिजिट भिसालाई वर्क भिसाजस्तो देखाउने जालो बुनिरहेका छन्।

नियमन चर्को, कारबाही कमजोर
नेपाल सरकारअन्तर्गत वैदेशिक रोजगार विभागले वैधानिक रुपमा कामदार पठाउने अनुमति दिने प्रक्रिया जटिल बनाए पनि, गैरकानुनी बाटोको प्रयोग गर्ने ठगी समूहका गतिविधिमा नियन्त्रण गर्न सकेको छैन। परामर्शदाताको नाममा दर्ता भएका कम्पनीहरू, वा व्यक्तिगत ‘एजेन्ट’को रूपमा क्रियाशील व्यक्तिहरूले गाउँगाउँमा पुगेर आकर्षक प्रस्ताव राख्ने, पैसा असुली सम्पर्कविहीन हुने शैली दोहोरिरहेकै छ।

विशेषज्ञहरू भन्छन्, ‘विदेश जानुअघि कुनै पनि प्रस्तावबारे वैदेशिक रोजगार विभागको वेबसाइटमार्फत पुष्टि गर्ने, लिखित सम्झौता गर्ने र वैधानिक संस्था वा कम्पनीमार्फत मात्र प्रक्रिया अघि बढाउने चेतनाको आवश्यकता छ।’

सम्झना राईको पक्राउ पछिल्लो उदाहरण मात्र हो, तर यस्तो प्रवृत्ति दिनदिनै बढ्दो छ। वैदेशिक रोजगारीप्रति नेपाली युवाको भरोसा, राज्यको नियमन क्षमतामा प्रश्न र गलत नियत बोकेका व्यक्तिहरूको पहुँच – यी सबैले मिलेर यस्तो शोषणलाई प्रश्रय दिइरहेका छन्।

अब राज्यले नीतिगत मात्र होइन, व्यवहारिक र प्रविधिमैत्री समाधान ल्याएर शोषणको चक्र तोड्न ढिलो गर्नु हुँदैन। जनताको सपनालाई बजारको सामान जस्तो बेच्नेहरूलाई कठोर दण्ड नदिइएसम्म वैदेशिक रोजगारी अझै शंकास्पद खेल बन्नेछ।

#क्यानाडा#सम्झना #राई