विराटनगर — हाल देशभर पश्चिमी वायु, स्थानीय वायु र बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभाव सक्रिय रहेका कारण मौसम आंशिकदेखि सामान्य बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षा भइरहेको जानकारी दिँदै महाशाखाले देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली र बाँकी भूभागमा मुख्यतः सफा मौसम रहने पूर्वानुमान गरेको छ।
महाशाखाका अनुसार मनसुन हाल अरब सागरको मध्य भाग, महाराष्ट्रका केही क्षेत्र, मुम्बई, कर्नाटका, बाङ्गलोरु, तमिलनाडुका बाँकी भाग, तेलङ्गाना, आन्द्र प्रदेश, पश्चिम मध्य तथा उत्तर बङ्गालको खाडीका केही भाग र भारतको त्रिपुरा, मणिपुर, नागाल्याण्ड, अरुणाचल प्रदेश, असम र मेघालयका केही भूभागसम्म फैलिएको छ। पश्चिम बङ्गाल, सिक्किम र उत्तरपूर्वी भारतका अन्य क्षेत्रतर्फ मनसुन अगाडि बढिरहेको महाशाखाले जनाएको छ।
आज दिउँसो लुम्बिनी प्रदेशसहित पहाडी भूभागहरूमा आंशिकदेखि सामान्य बदली रहनेछ भने बाँकी भूभागमा आंशिक बदलीदेखि सफा मौसम रहने अनुमान गरिएको छ। देशका पहाडी भागका थोरै स्थान र अन्य भूभागका एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। साथै, उच्च पहाडी र हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावनासमेत रहेको महाशाखाले जनाएको छ।
आज राति पनि बागमती र गण्डकी प्रदेशसहित अन्य पहाडी भूभागका थोरै स्थानहरू र बाँकी भूभागका एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। उच्च हिमाली क्षेत्रमा भने हिमपातको जोखिम कायमै छ। यस्तो मौसमका कारण दैनिक जनजीवन, कृषि कार्य, स्वास्थ्य अवस्था, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भन्दै महाशाखाले आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।
#हावा#को #प्रभाव #सक्रिय