विराटनगर– यस वर्षको मनसुन जेठ १५ (२०२५ मई २९) बिहीबार राति नेपालको पूर्वी भूभाग हुँदै प्रवेश गरेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुन कोशी प्रदेशका अधिकांश भागमा फैलिएको छ र त्यहाँका धेरै मौसम केन्द्रमा हल्कादेखि मध्यम वर्षा भइसकेको देखिन्छ ।
नेपालमा मनसुन प्रवेश गर्ने औसत मिति जुन १३ हो। तर यसपटक मनसुन सो औसत मितिभन्दा १५ दिन अघि नै भित्रिएको हो। महाशाखाले शुक्रबार (जेठ १६) दिउँसो जारी गरेको ‘मनसुन आगमन बुलेटिन–१’ मा यो वर्षको मनसुन पूर्वी नेपाल हुँदै प्रवेश गरी कोशी प्रदेशमा फैलिएको जानकारी दिइएको छ।
‘कोशी प्रदेशका अधिकांश मौसम केन्द्रहरूमा हल्कादेखि मध्यम मनसुनी वर्षा भएको अवस्था छ,’ बुलेटिनमा उल्लेख छ।
हाल देशको अन्य भू–भागहरूमा भने अझै मनसुनको प्रभाव नपुगेको र त्यहाँ पश्चिमी वायू तथा स्थानीय वायूको प्रभाव कायम रहेको महाशाखाले जनाएको छ। मौसमको अवस्थाको निरन्तर अनुगमन भइरहेको र मौसम सम्बन्धी जानकारी नियमित अद्यावधिक गरिने पनि विभागले स्पष्ट पारेको छ।
रेकर्ड ब्रेक मनसुन ?
जल तथा मौसम विज्ञान विभागले मनसुन आगमन र प्रस्थानसम्बन्धी तथ्यांक सन् १९६८ देखि राख्दै आएको छ। विभागका अनुसार हालसम्मकै सबैभन्दा छिटो मिति यही वर्षको हो। यसअघि सन् १९९६ मा मे ३१ मा मनसुन नेपाल प्रवेश गरेको थियो।
त्यस्तै हालसम्मकै सबैभन्दा ढिलो मिति सन् १९८२ मा जुन २७ रहेको विभागको अभिलेखमा उल्लेख छ। सन् २०२३ मा भने जुन १४ मा मनसुन नेपाल प्रवेश गरेको थियो।
औसतभन्दा बढी वर्षा र तापक्रमको सम्भावना
विभागले यस वर्षको मनसुन ऋतु (जेठ १८ देखि असोज १४) का चार महिनामा अधिकांश स्थानहरूमा सरदरभन्दा बढी वर्षा हुने अनुमान गरेको छ। यस अवधिमा तापक्रम पनि औसतभन्दा माथि रहने सम्भावना प्रक्षेपण गरिएको छ।
मनसुन के हो ?
मनसुन भारतको बंगालको खाडी क्षेत्रमा उत्पत्ति भइ पश्चिमतर्फ सर्ने मौसमी प्रणाली हो, जुन नेपालमा दक्षिण–पूर्वी दिशाबाट प्रवेश गर्छ। जलवाष्पयुक्त हावाको निरन्तर प्रवेशले भारी वर्षा गराउने यो प्रणाली नेपालमा खेतीपाती, जलाशयको भरपाई र दैनिक जनजीवनमा निर्णायक प्रभाव पार्ने महत्वपूर्ण मौसमी घटना मानिन्छ।
#मनसुन #प्रवेश