विराटनगर — काठमाडौँ जिल्ला प्रशासन कार्यालयले दरबारमार्ग क्षेत्रलाई शनिबारदेखि असार २४ सम्मका लागि निषेधित क्षेत्र घोषणा गरेको छ। राजावादी समूहहरूले नारायणहिटी दरबार संग्रहालय क्षेत्रमा विरोध प्रदर्शनको तयारी गरिरहेका बेला प्रशासनले सुरक्षाका कारण देखाउँदै निषेधाज्ञा जारी गरेको हो।
काठमाडौँका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीद्वारा शुक्रबार जारी सूचनाअनुसार निषेधाज्ञा लागू हुने क्षेत्र केशरमहल चोकदेखि नारायणहिटी दरबार संग्रहालयको दक्षिण गेट हुँदै जयनेपाल मोडसम्म र महेन्द्र सालिक हुँदै पुनः नारायणहिटी दरबार संग्रहालय दक्षिण गेटसम्म रहेको छ।
स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३क) बमोजिम तथा राष्ट्रिय सुरक्षा समितिको सिफारिसमा यो निर्णय गरिएको हो। प्रशासनले निषेधाज्ञा अवधिभर पाँच जना भन्दा बढी व्यक्ति भेला भइ अनशन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन वा सभा गर्न नपाइने स्पष्ट पारेको छ।
यसअघि राजसंस्थाको समर्थनमा विभिन्न समूहहरूले दरबारमार्ग क्षेत्रमा प्रदर्शन गर्ने घोषणा गरेका थिए। त्यही आधारमा प्रशासनले सम्भावित तनावलाई ध्यानमा राख्दै निषेधाज्ञा जारी गरेको जनाइएको छ।
#दरबारमार्ग# निषेधित# क्षेत्र#