विराटनगर— झन्डै चार दशकदेखि अलमलिएको सोलुखुम्बु र ओखलढुंगाबीचको सीमा विवाद समाधान गर्न दुवै जिल्लाले शनिबार संयुक्त कार्यदल गठन गरेका छन्। सोलुखुम्बुको सल्लेरीमा सम्पन्न अन्तरजिल्ला सुरक्षा समन्वय बैठकले कार्यदल गठन गर्ने निर्णय गरेको हो।

विवादित क्षेत्र सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका र ओखलढुंगाको खिजिदेम्बा गाउँपालिकाको सीमामा पर्ने तोलु गुम्बा, बुलबुले, लोमुजे बौद्ध हुँदै छुटाङ्गा क्षेत्रमा पर्छ। सन् १९८६ (विस २०४३) देखि यी स्थान कुन जिल्लामा पर्छन् भन्ने विषयमा अन्योल रहँदै आएको छ ।

बैठकले ओखलढुंगाका सहायक प्रमुख जिल्ला अधिकारी गोमादेवी ढकाल (पौडेल)को संयोजकत्वमा कार्यदल गठन गर्दै १५ दिनभित्र प्रतिवेदन पेश गर्ने कार्यादेश दिएको छ। कार्यदलमा सोलु र ओखलढुंगाका मालपोत तथा नापी कार्यालयका प्रमुख सदस्य रहेका छन् भने सोलु प्रशासन कार्यालयका नायब सुब्बा सुमन कार्की सदस्य सचिव छन्।

बैठकमा ओखलढुंगाका प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदी नेतृत्वको सुरक्षा टोलि सहभागी थियो। सल्लेरीमा सम्पन्न उक्त बैठकमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका  दुवै जिल्लाका प्रमुखहरुको पनि उपस्थिति थियो।

बैठकले वर्षायाममा दुवै जिल्लालाई जोड्ने राजमार्ग सहज सञ्चालनका लागि आवश्यक पहल गर्ने, शान्ति–सुरक्षा र अपराध नियन्त्रणमा संयुक्त रणनीति बनाउने निर्णय पनि गरेको छ। साथै सडक दुर्घटना न्यूनीकरण गर्न सडकमा रिफ्लेक्टर्स बत्ती राख्न सम्बन्धित निकायलाई पत्राचार गर्ने निर्णय भएको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेले जानकारी दिए।

#सोलुखुम्बु# र #ओखलढुंगा#बीच#को #सीमा# विवाद