विराटनगर– गण्डकी प्रदेश सरकारले ल्याएको ‘राइड सेयरिङ’सम्बन्धी नियमावलीविरुद्ध आक्रोशित यातायात व्यवसायीहरूले सोमबार (जेठ १९) देखि देशभर सार्वजनिक सवारी साधन ठप्प पार्ने घोषणा गरेका छन्।
‘सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समिति’को आह्वानमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठनसहित सात वटा यातायात व्यवसायी तथा मजदुर संगठनहरूले संयुक्त विज्ञप्ति जारी गर्दै अनिश्चितकालीन रुपमा सेवा बन्द गर्ने निर्णय गरेका हुन्।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राईका अनुसार निजी प्रयोजनका लागि खरिद गरिएका सवारी साधनलाई राइड सेयरिङको नाममा भाडाका गाडीसरह यात्रु ओसारपसारमा प्रयोग गर्न दिने गण्डकी प्रदेश सरकारको निर्णय संविधान र ऐनविपरीत भएको भन्दै व्यवसायीहरू रुष्ट छन्।भने, ‘सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ नभएकाले अब बाध्य भएर आन्दोलनमा उत्रिन लागिएको हो।’
सार्वजनिक यातायात बचाउ संघर्ष समितिले आइतबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यस आन्दोलनबाट पर्न जाने असरको सम्पूर्ण जिम्मेवारी नेपाल सरकारले नै लिनुपर्छ। यात्रु, मजदुर, कर्मचारी र आम उपभोक्ताले सार्वजनिक यातायात बचाउन आ–आफ्नो क्षेत्रबाट सक्दो सहयोग गरिदिनुहुन हार्दिक अपिल गर्दछौं।’
संघर्ष समितिमा आवद्ध सार्वजनिक यातायात केन्द्रीय महासंघ, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, नेपाल यातायात व्यवसायी महासंघ, नेपाल यातायात मजदुर संघ, अखिल नेपाल यातायात मजदुर संघ, एकीकृत समाजवादी यातायात मजदुर संघ र नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले संयुक्तरूपमा सेवा ठप्प पार्ने जनाएका छन्।
व्यवसायीहरूको दाबीअनुसार गण्डकी प्रदेश सरकारले संविधानको धारा ५७ (६), सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा ८(२) र १२(१) विपरीत निजी सवारीलाई सार्वजनिक सवारीसरह मान्यता दिएको छ।
उनीहरूका अनुसार पटक–पटक संघ तथा प्रदेश सरकारको ध्यानाकर्षण गराउँदा समेत कुनै सुनुवाइ नभएपछि बाध्य भएर आन्दोलनको बाटो रोजिएको हो।
विज्ञप्तिमा उल्लेख गरिएको छ, ‘आजसम्म पनि नेपाल सरकारले यस विषयमा गम्भीर चासो नदेखाएको हुँदा हामी बाध्य भइ मिति २०८२ जेठ १९ देखि सवारी साधन ग्यारेज तथा घरमै थन्काएर आन्दोलनमा उत्रिने निर्णय गरेका छौं।’
गत दुई दिनदेखि विरोध प्रदर्शन गर्दै आएका व्यवसायीहरू सोमबारदेखि अत्यावश्यक सेवामा पर्ने सार्वजनिक यातायात समेत ठप्प पार्ने तयारीमा छन्। आन्दोलनको केन्द्र गण्डकी प्रदेशबाट सुरु भए पनि अब देशभरका सवारी सञ्चालन रोक्ने निर्णय भएको व्यवसायीहरूको भनाइ छ।
राइड सेयरिङको अनुमतिले आफूहरूको व्यवसाय धरासायी हुने भन्दै व्यवसायीहरू आन्दोलनमा उत्रिएका हुन्। उनीहरूले भनेका छन्, ‘निजी गाडीलाई सार्वजनिक सेवा दिन छुट दिइए यातायात व्यवसायी, मजदुर, लगानीकर्ता सबैको भविष्य संकटमा पर्छ।’
#ठप्प