विराटनगर— सरदर मितिभन्दा १५ दिनअघि नै नेपाल प्रवेश गरेको मनसुन अब भने एक साता निष्क्रिय रहने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।बिहीबार राति पूर्वी नेपालबाट प्रवेश गरेर कोशी प्रदेशका अधिकांश भूभागमा विस्तार भएको मनसुन केही दिन निष्क्रिय रहँदा वर्षा न्यून हुने र गर्मी बढ्ने सम्भावना रहेको विभागको अनुमान छ।

महाशाखाका मौसमविद् हरिप्रसाद दाहालका अनुसार नेपालमा मनसुन भित्रिने औसत मिति जुन १३ हो। तर यस वर्ष मई २९ (जेठ १६) मै पूर्वी क्षेत्रबाट मनसुन प्रवेश गरेको हो। बाँकी भेकमा भने अझै मनसुन फैलिन बाँकी छ।

उनका अनुसार मनसुन सक्रिय भएको दिनकै वर्षाले पूर्वी क्षेत्रमा असर पुर्‍याएको थियो । भारी वर्षाका कारण केही ठाउँमा डुबानसमेत भएको छ।

विभागका बाढीविद् विनोद पराजुलीले मनसुन भित्रिएकै दिन पूर्वी क्षेत्रमा २०० मिलिमिटरभन्दा बढी वर्षा भएको जानकारी दिए। ‘नदीमा पानीको सतह बढ्दा बाढी आएको र केही क्षेत्र डुबानमा परेको छ,’ उनले भने।

पराजुलीका अनुसार विभागले आगामी चार महिनाको मनसुन अवधिभर देशका अधिकांश भागमा औसतभन्दा बढी वर्षा हुने प्रक्षेपण गरेको छ। कर्णाली प्रदेशको पूर्वी क्षेत्र, लुम्बिनी प्रदेशको उत्तरी भाग र गण्डकी प्रदेशको अधिकांश क्षेत्रमा ५५ देखि ६५ प्रतिशतसम्म बढी वर्षा हुने सम्भावना छ।

मनसुनको समयमा जल तथा मौसमसम्बन्धी पूर्वसूचना समयमै सम्प्रेषण गर्ने उद्देश्यले विभागले ब्रिफिङ प्रणाली सुरु गरेको छ।‘अबदेखि विभागको कार्यालयमा हरेक दिन बिहान ११ बजे जल तथा मौसमसम्बन्धी ब्रिफिङ हुनेछ,’ पराजुलीले भने, ‘सञ्चारमाध्यम, सरकारी तथा गैरसरकारी निकाय, उद्धार तथा राहतमा संलग्न सबै सरोकारवालालाई प्रत्यक्ष संवाद र सूचना प्रवाहमा सहजीकरण गरिएको छ।’

विभागले मौसमसम्बन्धी जानकारीका लागि ११५५ र बाढीसम्बन्धी जानकारीका लागि पनि ११५५ टोल–फ्री नम्बरमार्फत २४ सै घण्टा सेवा दिँदै आएको छ।
 

#मनसुन# एक# साता #निष्क्रिय