विराटनगर —अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तिलाठी कोईलाडी गाउँपालिकामा सार्वजनिक खरिद प्रक्रिया उल्लंघन गरी बदनियतपूर्वक बोलपत्र सूचना लुकाएको आरोपमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगका अनुसार गाउँपालिकाले आर्थिक वर्ष २०७९/८० मा निर्माणसम्बन्धी चार वटा ठेक्काका लागि आह्वान गरिएको बोलपत्र सूचना तथा खरिद आशयको सूचना सार्वजनिक खरिद ऐनअनुसार राष्ट्रिय स्तरको दैनिक पत्रिकामा प्रकाशन गर्नुपर्ने थियो। तर सूचना सार्वजनिकरूपमा वितरण नगरी सौर्य दैनिकमा एक/एक प्रति मात्र प्रकाशित गरिएको पाइएको छ।

सूचना लुकाउने बदनियत
प्रेस काउन्सिल नेपालबाट प्राप्त २०७९ चैत २३ को पत्रअनुसार उल्लेखित मितिमा पत्रिकामा बोलपत्र सूचना प्रकाशित नभएको पुष्टि भएको आयोगको भनाइ छ। आयोगले पत्रिका व्यवस्थापन प्रणालीको पीडीएफ अभिलेखमा समेत कुनै सूचना नदेखिएको उल्लेख गर्दै सूचना लुकाउने बदनियत देखिएको जनाएको छ।

आयोगको ठहरमा, सार्वजनिक रुपमा वितरणका लागि प्रकाशन गर्नुपर्ने सूचना एक/एक प्रति मात्र प्रकाशित गरेर अभिलेखमा राख्ने नियतले सरकारी प्रक्रिया कमजोर पारिएको छ। आयोगले यो कार्यलाई गैरकानुनी लाभ लिने र राज्यलाई आर्थिक हानि पुर्‍याउने उद्देश्यका साथ गरिएको ठहर गरेको छ।

तीन लाख बढीको बिगो माग
आयोगले तिलाठी कोईलाडी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र कुमार यादव, सह-लेखापाल शत्रोहन दास, टाइम्स रिपब्लिक मिडिया प्रालिका संस्थापक भूषण कुमार सिंह, डच मिडिया प्रालिका निर्देशक रवि अर्याल र प्रभाव राष्ट्रिय दैनिकका प्रबन्ध निर्देशक कृष्ण बहादुर कार्की विरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार कारबाहीको माग गर्दै रु. ३ लाख १६ हजार ४१० बराबरको बिगो असुल उपर सहित कैद सजायको माग दाबी गरेको छ।

आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार, टाइम्स रिपब्लिक मिडियाले डच मिडियामार्फत सूचना प्रकाशनको जिम्मा दिएको र डच मिडियाले प्रभाव दैनिकलाई मौखिक रूपमा जिम्मा दिएको पुष्टि भएको छ। सूचना प्रकाशित नभएको, झुटा बिल पेश गरिएको र सो आधारमा रकम भुक्तानी गरिएको भन्दै उनीहरू सबैलाई मुख्य कसूरदार सरह सजाय दिनुपर्ने माग गर्दै आरोपपत्र दायर गरिएको हो।

आयोगले दायर गरेको मुद्दामा उल्लेख गरिएका प्रतिवादी र आरोप :

सि.नं.
नाम/पद
बिगो (रु.)
कानुनी प्रावधान अनुसार आरोप


सुरेन्द्र कुमार यादव (प्रमुख प्रशासकीय अधिकृत), शत्रोहन दास (सह-लेखापाल)
३,१६,४१०
भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ८(१)(ङ) अनुसार कसूर, कैद र बिगो असुल माग


भूषण कुमार सिंह (टाइम्स रिपब्लिक मिडिया)
३,१६,४१०
ऐनको दफा २२ अनुसार मतियारका रूपमा संलग्न, मुख्य कसूरदार सरह सजाय माग


रवि अर्याल (डच मिडिया)
३,१६,४१०
ऐनको दफा २२ अनुसार मतियारका रूपमा संलग्न, मुख्य कसूरदार सरह सजाय माग


कृष्ण बहादुर कार्की (प्रभाव दैनिक)
३,१६,४१०
ऐनको दफा २२ अनुसार मतियारका रूपमा संलग्न, मुख्य कसूरदार सरह सजाय माग