विराटनगर– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा सभापति शेरबहादुर देउवामाथि उठाएको प्रश्नको केन्द्रीय सदस्य तथा अर्बपति विनोद चौधरीले प्रतिवाद गरेका छन् । चौधरीले गरेको प्रतिवादको अहिले कांग्रेसभित्र चर्को आलोचना भइरहेको छ । माननीय विनोद चौधरी जस्ता अर्बपति विधिसम्मत तरिकाले कांग्रेसको केन्द्रीय सदस्य बन्दा आपत्ति होइन कांग्रेसीजन खुशी हुन्छन् तर पैसाको बलमा विधि र प्रक्रिया मिचेर केन्द्रीय सदस्य भएपछि माननीय शेखर कोइरालाले मात्रै होइन, कांग्रेसका सामान्य कार्यकर्ताले पनि प्रश्न उठाउनुका साथै आपत्ति जनाउनु स्वभाविक हो । तपाइँ एमालेबाट आउने बित्तिकै पार्टीको केन्द्रीय सदस्यमा उम्मेदवारी दिएदेखि नै प्रश्न उठिरहेको होइन, प्रश्न मात्रै उठेको छ र ! सर्वोच्च अदालतमा मुद्दा नै परेको छैन ? 

नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा माननीय विनोद चौधरी र डा. शुभाषचन्द्र यादवलगायत मधेसी कोटामा केन्द्रीय सदस्यको उम्मेदवार हुनुभयो । माननीय चौधरीको उम्मेदवारी बिरोधमा डा. यादवले दावी बिरोध गर्न जानुभयो तर उहाँको उजुरी निर्वाचन समितिले लिएनन् र चुनाव भयो । त्यसमा माननीय चौधरी निर्वाचित हुनुभयो । त्यसपछि डा. यादवले सर्वोच्च अदालतमा उहाँको बिरोधमा रिट निवेदन दर्ता गराउनु भयो । उक्त मुद्दा अहिले सर्वोच्चमा विचाराधिन छ । नेपाली कांग्रेसको विधान अनुसार पार्टीको क्रियाशील सदस्यता प्राप्त गरेको १० वर्षपछि मात्रै केन्द्रीय सदस्यको उम्मेदवार बन्न पाउने व्यवस्था छ । माननीय चौधरी दोस्रो संविधानसभामा एमालेबाट संविधानसभा सदस्य हुनुभएको थियो । त्यसपछि उहाँ नेपाली कांग्रेसमा आउनु भयो तर १० वर्ष क्रियाशील सदस्यता नलिएको अवस्थामा नै केन्द्रीय सदस्यको उम्मेदवार भएर निर्वाचित हुनुभएको छ । माननीय चौधरीले उम्मेदवारी दिने क्रममा क्रियाशील सदस्यता प्राप्त गरेको १० वर्ष भएको फर्जी कागजात निर्वाचन समितिमा पेश गरेर निर्वाचन जितेका हुन् । त्यसैले उहाँमाथि प्रश्न उठ्नुका साथै सर्वोच्च अदालतमा मुद्दा पनि परेको छ । 

त्यही प्रसंग माननीय डा. कोइरालाले पार्टी बैठकमा उठाउनु भयो । उहाँको प्रश्नप्रति माननीय चौधरीले पार्टी बैठकमा प्रतिप्रश्न गर्दै प्रतिवाद गर्नुभएको छ । उहाँले डा. कोइरालाको प्रतिवाद गरेको कारण अहिले चौतर्फी आलोचना र बिरोधको सामना गरिरहनु भएको छ । माननीय चौधरीले बैठकमा ‘चन्दा माग्ने तर नेता मान्न लजाउने’ दिएको अभिव्यक्तिले अहिले नेपाली कांग्रेसलाई मात्रै नभई सबै पार्टीका नेताहरुलाई झस्काएको छ । उहाँको भनाइले उद्योगी, व्यवसायीसँग राजनीतिक दलहरुले चन्दा मागेपछि नेता पनि मान्नु पर्ने सन्देश दिन खोज्नुभएको छ । आम कार्यकर्ताले पार्टीका लागि जीवनभरि अनेकौं दुःख, कष्ट भोग्नुका साथै संघर्ष गरेर पनि पद नपाउने तर उद्योगी व्यवसायीले चन्दा दिने बित्तिकै पद दिनुपर्ने र नेता मान्न बाध्य हुनुपर्ने माननीय चौधरीको अभिव्यक्तिले चन्दाबाट चल्ने सबै पार्टीका नेताहरुको शीर निहुर्‍याएको छ । माननीय चौधरीले नेपाली कांग्रेसका लागि हालसम्म दिएको चन्दा रकम पार्टीले सार्वजनिक गर्नुपर्ने अवस्था आएको छ र उहाँले दिएको चन्दा रकम प्रत्येक नेपाली कांग्रेसका नेता कार्यकर्ताबाट संकलन गरेर फिर्ता गरी राजनीतिक दल र लोकतन्त्रको गरीमा जोगाउनु पर्ने अवस्था छ । त्यसैले हामी नेपाली कांग्रेसका सबै नेता तथा कार्यकर्ता माननीय चौधरीले पार्टीमा दिनुभएको चन्दा रकम संकलन गरेर फिर्ता गरौं । 

माननीय चौधरीले नेपाली कांग्रेसका लागि सानैदेखि रगत पसिना बगाएका नेता बिक्रम खनाललाई अन्तर्घातीको संज्ञा दिन मिल्छ ? यदी खनाल अन्तर्घाती हो भने पार्टीले अहिलेसम्म किन कारवाही गरेनन् ? यदी पार्टीले कारवाही गरेको छैन भने अन्तर्घातीको संज्ञा दिएर चरित्र हत्या गर्ने माननीय चौधरीलाई पार्टीले कारवाहीको दायरामा ल्याउनु पर्छ, होइन भने हामी कांग्रेसीजन एमालेबाट पलायन भएर पैसाको बलमा हाम्रो नेता बन्न खोज्नेलाई स्विकार गर्नु भनेको बि.पी. कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई जस्ता नेताको अपमान गर्नु हो । उहाँहरुले स्थापित गरेर जानु भएको बिचारको अपमान गर्नु हो । त्यसैले अन्तर्धातीको संज्ञा दिनेलाई कारवाही गरियोस् । 

डा. शेखर कोइरालाको निजी क्षेत्रप्रतिको धारणा अहिलेसम्म बुझन नसक्ने मान्छे कसरी नेपाली कांग्रेसमा बसिरहनुभएको छ ? भन्ने प्रश्न उठ्नु स्वभाविक हो । कोइराला परिवारले मुलुकमा निजी क्षेत्रका लागि दिएको योगदान अविस्मरणीय छ । यो प्रत्येक नेपालीलाई थाहा छ । शेखर कोइरालाले निजी क्षेत्रको समस्याको बारेमा पटक पटक आवाज उठाउँदै आउनु भएको छ तर माननीय चौधरीले उहाँको निजी क्षेत्रप्रतिको धारणा, सोच के ? भनेर प्रश्न उठाउने व्यक्ति कांग्रेसी हुनै सक्दैनन् । त्यसैले यो विषयमा पनि माननीय चौधरीलाई पार्टीले कारवाही गर्नुपर्छ । 

माननीय चौधरीले पार्टीको कोषाध्यक्षलाई पनि आफ्नो केन्द्रीय सदस्य बन्न गरेको फर्जी कार्यमा संलग्न गराउन अपमानको कार्ड खेल्नुभएको छ । माननीय कोइरालाले कांग्रेसका मात्रै होइनन् अन्य पार्टीका पनी नेता तथा कार्यकर्ताको बिरोध नै गर्दा पनि सम्मानका साथ सभ्य भाषा प्रयोग गर्दै आउनुभएको जगजाहेरै छ । तर माननीय चौधरीले अपमान गरेको भन्दै चरित्र हत्या गर्न खोज्नु अक्षम्य अपराध हो । शेखर कोइरालालाई संकिर्ण बिचार भएको भन्दै अपमानित गर्न खोज्नेलाई कारवाहीको दायरामा ल्याउनुको विकल्प छैन । पार्टीले माननीय चौधरीलाई कारवाहीको दायरामा ल्याउन नसक्ने हो भने सभ्य व्यक्ति पार्टीमा अपमानित भएर बस्ने अवस्था रहँदैन । पार्टीबाट सभ्य र प्रतिष्ठित व्यक्तिहरु पलायन हुन बाध्य हुने विषय पार्टी नेतृत्वले बुझ्नु आवश्यक छ । 

मन्त्री को बन्छ र को बन्दैन भन्ने विषय व्यक्तिभन्दा पनि पार्टीको विधिसम्मत निर्णयले निर्धारण गर्ने हो । कुनै एक नेताले भन्दैमा मन्त्री बन्ने होइन । तर मन्त्री को बन्ने र को नबन्ने विषयमा पार्टीभित्र छलफल हुन्छ, भइरहेको छ र हुनेछ । रहयो कुरा विषय विज्ञको । विषय विज्ञ र उद्योगी व्यवसायीमा फरक हुन्छ । विज्ञले विज्ञता प्रदर्शन गर्दै देश र जनताको हितमा नीति, योजना, कार्यक्रम बनाएर कार्यान्वयन गर्छ तर उद्योगी व्यवसायीले आफ्नो व्यवसायिक हितलाई ध्यानमा राखेर काम गर्छ, गर्दै आएको छ र गर्ने पनि छ । नेपाली कांग्रेस होस् वा डा. शेखर कोइराला सबैले विज्ञ र विज्ञतालाई कदर गर्दै आएको विषय जगजाहेरै छ । यसमा माननीय चौधरीलाई प्रष्टीकरण दिइरहनुपर्ने आवश्यकता छैन । जेलनेल भोगेका, परिवारका सदस्य गुमाएका सहिद परिवारका व्यक्तिहरु कुनैपनि पार्टीमा पहिलो प्राथमिकतामा पर्छ, पर्नु पनि पर्छ । जेलनेल भोगेका माथि माननीय चौधरीले प्रश्न उठाएर अपमानित गरेको छ । यो विषयमा पनि उहाँलाई कारवाही हुनुपर्छ । पार्टीमा जेलनेल भोगेका बाहेक अन्य व्यत्तिm पार्टीमा बस्न नपाएको भए विनोद चौधरी पार्टीको केन्द्रीय सदस्य र सांसद पक्कै पनि रहनुहुन्न थियो । 

माननीय चौधरीले केन्द्रीय सदस्यको उम्मेदवार बन्न गरेको गल्तीको ढाकछोप गर्न पार्टी बैठकमा प्रस्तुत गरेको फेहरिस्तले पुनः अनेकौं गल्ती भएको छ । त्यसैले उहाँलाई कारवाहीको दायरमा ल्याएर लोकतन्त्र र राजनीतिक दललाई उपहास हुनबाट जोगाउन पार्टी नेतृत्वलगायतका नेतागणहरुमा विनम्र आग्रह छ । जय नेपाल !    (लेखक नेपाली कांग्रेसका सिरहाका नेता तथा मधेस प्रदेशसभाका पूर्वसांसद हुन् ।)