विराटनगर ।  नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देश गम्भीर परिस्थितिबाट गुजरिरहेको तर संसदीय व्यवस्थामा संख्याको खेल हुने र बहुमत पुर्‍याउनुपर्ने ेबताएका छन् । विराटनगरमा पत्रकारसँग कुराकानी गर्दै कोइरालाले वर्तमान सरकारको कार्यशैली, भ्रष्टाचार, दण्डहिनता, संवैधानिक परिषद्सम्बन्धी अध्यादेश, पार्टीभित्रको आन्तरिक लोकतन्त्र जस्ता गम्भीर अवस्थाबाट देश गुजरिरहेको हो । 

मन्त्रीले घुस मागेको अडियो सार्वजनिक भइरहेको अवस्थामा नैतिकता बिनाको राजनीति धरापमा पर्ने उनको भनाइ थियो ।  ‘राजनीतिमा नैतिकता हुनुपर्छ, नैतिकता बिनाको राजनीति धरापमा पर्छ,’ उनले भने, ‘राष्ट्रपतिले विधेयक फिर्ता पठाउनु गम्भीर विषय हो । संवैधानिक परिषद्मा प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभा अध्यक्ष, विपक्षी दलको नेता र उपसभामुख गरी छ जना सदस्य हुने व्यवस्था रहेको तर त्यसमा दुई जनाले मात्रै निर्णय गर्न सक्ने व्यवस्था खतरनाक रहेकोले राष्ट्रपतिले पूनरावलोकनका लागि फिर्ता पठाएको छ ।’ 

कांग्रेस–एमालेबीच भएको सहमतिमध्ये एउटा बुँदा पनि अगाडि बढेको छ भन्दै कोइरालाले प्रतिप्रश्न गरेका हुन् । ‘कांग्रेस र एमालेबिच भएको सात बुँदे सहमतिमा एक वर्षको अवधिमा एउटा पनि बुँदा अगाडि बढ्न सकेको छैन,’ उनले भने, ‘संविधान संशोधन वा पुनरावलोकनको चर्चासमेत हराएको र यसका लागि नेपाली कांग्रेसको केन्द्रीय समितिले बनाउने भनेको कमिटी एक महिना बितिसक्दा पनि गठन हुन सकेको छैन ।’ 

देश यस्तो गम्भीर परिस्थितिबाट गुजरिरहेको अवस्थामा अब के हुन्छ भन्ने द नेप्लिजकर्मीको जिज्ञासामा कोइरालाले संसदीय व्यवस्थामा संख्याको खेल हुने र बहुमत पुर्‍याउनुपर्ने हुन्छ तर त्यो अवस्था नभएकोले अहिलेको सरकार नै २०८४ सम्म चल्ने बताएका छन् । उनले पार्टीको संसदीय दलको नेता फेर्नका लागि पनि संख्या नपुगेकोले अहिले हतार गर्न नहुने बताए।  

कोइरालाले पूर्वराष्ट्रपति विद्या भण्डारी र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल लगायतका नेताहरूसँगको भेटघाट सामान्य विषय भएको बताएका छन् । ‘अन्य राजनीतिक दलका नेताहरुसँग पार्टी सभापति शेरबहादुर देउवाले बोलाएर छलफल, कुराकानी गर्नुपर्ने हो, उहाँ सबभन्दा सिनियर नेता, लामो समय राजनीतिमा बिताएका व्यक्ति हो तर गर्नुहुन्न्,’ उनले भने, ‘पार्टी सभापतिले अन्य दलका नेताहरुसँग भेट, कुराकानी, छलफल नगरेकोले आफूले गर्दै आएको छु । योभन्दा अगाडि एमाले अध्यक्ष केपी ओलीसँग पनि भेटेर छलफल गर्दै आएकोले यो नयाँ विषय होइन । राजनीतिमा यस्तो गरिरहनु पर्छ । नेताहरुसँगको संवाद आवश्यक हुन्छ ।’ नेपाली कांग्रेसको महाधिवेशन २०८२ भित्रै हुनुपर्नेमा आफू अडिग रहेको उनले दोहोर्‍याए।