विराटनगर– कोशी प्रदेशका चार वटा मन्त्रालयका सचिवको सरुवा भएको छ । भौतिक पूर्वाधार विकास मन्त्रालय, स्वास्थ्य मन्त्रालय, पर्यटन, वन तथा वातावरण मन्त्रालय र उद्योग, कृषि तथा सहकारी मन्त्रालयका सचिवको सरुवा भएको हो ।
भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव अशोक कुमार साह शहरी विकास मन्त्रालय सरुवा भएर गएका छन् भने उनको ठाउँमा नयाँ शहर आयोजना बबरमहलबाट मिलन आचार्य सरुवा भएर आएका हुन् । स्वास्थ्य मन्त्रालयकी डा. राधिका थपलिया स्वास्थ्य तथा जनसंख्या मन्त्रालय गएकी छिन् भने उनको ठाउँमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट यदुचन्द्र घिमिरे सरुवा भएर आएका छन् ।
पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव विशाल घिमिरे वन तथा वातावरण मन्त्रालय काठमाडौं र उद्योग, कृषि तथा सहकारी मन्त्रालयका सचिव शरण कुमार पाण्डे कृषि तथा पशुपंक्षी मन्त्रालयमा सरुवा भएर गएका छन् । उनीहरुको ठाउँमा नेपाल सरकारले कसैलाई सरुवा गरेर पठाएका छैनन् ।
विराटनगर महानगर प्रमुखमा भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयबाट योगेन्द्र प्रसाद दुलाल सरुवा भएर आएका छन् । यसअघि महनगर प्रमुखमा सरुवा भएर आएका रामचलितर महतोलाई युवा तथा खेलकुद मन्त्रालयमा सरुवा गरिएको छ । महतोलाई महानगरका मेयर नागेश कोइरालाले हाजिर गर्न नदिएपछि उनी मन्त्रालयमा नै काजमा बस्न बाध्य भएका थिए ।