विराटनगर-  राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको सम्बन्ध सुधार्न अमेरिका पुगेका युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की अपमानित भएर फर्किएका छन् ।

ह्वाइट हाउसमा जेलेन्स्कीको राष्ट्रपति ट्रम्प र उपराष्ट्रपति जेडी बेन्सबीचको शुक्रबारको बैठक सुखद रहेन ।  वार्ताको मूल विषय  खनिज सम्झौतामा हस्ताक्षर गर्ने बारे चर्चै भएन ।  संयुक्त पत्रकार सम्मेलन पनि भएन । ट्रम्प प्रशासनले जेलेन्स्कीलाई ह्वाइट हाउस छाड्न भन्यो ।

जेलेन्स्की नराम्रो महसुस गर्दै ह्वाइट हाउसबाट बाहिरिए । मौकाको ताकमा रहेका युरोपेली नेताहरूले जेलेन्स्कीको समर्थनमा बोलेका छन् ।

फ्रान्स, जर्मनी, पोल्याण्ड, स्पेन, डेनमार्क, नेदरल्याण्ड्स, पोर्चुगल, चेक रिपब्लिक, नर्वे, फिनल्याण्ड, क्रोएशिया, इस्टोनिया, लातभिया, स्लोभेनिया, बेल्जियम, लिथुवानिया, लग्जेम्बर्ग र आयरल्याण्डले जेलेन्स्कीको  प्रशंसा गरेका छन्।

ह्वाइट हाउसमा ट्रम्पले जेलेन्स्कीको आत्मसम्मान माथि प्रहार गर्दै  रूससँग युद्धविराम सम्झौता नगरे युक्रेनलाई अमेरिकी समर्थन कायम नरहने भनेर धम्की दिएका थिए । युरोपेली नेताहरूले त्यसको प्रतिवाद गरेका छन् ।

युरोपियन कमिसनका प्रमुख उर्सुला भोन देर लेयनले जेलेन्स्कीलाई निडर रहन भनेकी छन्। 'तपाईंको बहादुरीको सम्मान युक्रेनीले गर्नेछन्। आफूलाई बलियो बनाउनुस्। साहस कायम राख्नुस् र निडर रहनुस्,’ लेयनले एक्समा लेखेकी छन्।

वासिङटनको सोमबार मात्रै भ्रमण गरेका फ्रान्सका राष्ट्रपति इमानुअल म्याक्रोनले तीन वर्ष अगाडि आक्रमणमा परेको युक्रेनलाई सहयोग गर्नु र रूसमाथि प्रतिबन्ध लगाउनु अमेरिका एवं युरोपको निर्णय सही रहेको बताएका छन् ।अमेरिकालाई युक्रनेकै पक्षमा रहनुपर्नेमा उनले जोड दिए ।

‘उनीहरू सार्वभौम अधिकार, स्वतन्त्रता र पूरा युरोपको सुरक्षाका लागि लडिरहेका छन्,’ म्याक्रोनले एक्समा भनेका छन्।

जर्मनीको नयाँ चान्स्लर बन्ने तयारीमा रहेका फ्रेडरिक मर्जले पनि युक्रेनको समर्थनमा बोलेका छन् । 'अनुकूल र प्रतिकूल दुवै समयमा जर्मनी उक्रेनसँग उभिन्छ,’ उनले भनेका छन्, ‘आक्रमणकारी को र पीडित को हो भन्ने बुझ्नु पर्छ । हालका चान्स्लर ओलफ स्कल्जले पनि युक्रेन जर्मनी र अन्य युरोपमाथि भर पर्नसक्ने विश्वास दिलाएका छन्।

ह्वाइट हाउसको ताजा घटनापछि बेलायतका प्रधानमन्त्री किअर स्टार्मरले ट्रम्प र जेलेन्स्कीसँग सम्पर्क गरेको न्यूयोर्क टाइम्सले जनाएको छ। उनले पनि बिहीबार मात्रै ह्वाइट हाउस भ्रमण गरेका थिए।

उनले त्यहाँ शान्तिकाे मार्ग खुलाउनका लागि पनि भूमिका खेल्ने बताएका छन्। स्टार्मरले आइतबारै जेलेन्स्की र युरोपेली नेताहरूलाई लन्डनमा बस्नेगरी बैठक डाकेका छन्।

हंगेरीका दक्षिणपन्थी प्रधानमन्त्री भिक्टर अर्बानले भने ट्रम्पको वकालत गरेका छन्। ‘शक्तिशालीले युद्ध रोक्छ, कमजोरले युद्ध जन्माउँछ,’ अर्बानले कसैको नाम उल्लेख नगरी एक्समा लेखेका छन्।

क्यानाडाका विदेशमन्त्री मेलानी जोलीले पनि युरोपेली नेताहरूसँग स्वर मिलाएकी छन्। ‘हामीहरुको स्वतन्त्रताका लागि पनि युक्रेन लडिरहेको छ,’ उनले रिपोर्टरहरूलाई शुक्रबार भनिन्।

ट्रम्पको कार्यकालको सुरूवातदेखि नै क्यानाडाको अमेरिकासँग विवाद जारी छ । ट्रम्पले क्यानडालाई अमेरिकाको ५१ औं राज्य बनाउने भनिरहेका छन् ।

अमेरिकी कुटनीतिज्ञ ड्यानियल फ्राइडदले युरोप झस्किएकाले जेलेन्स्कीको पक्षमा युरोपेली नेताहरूले सहानुभूति देखाइरहेको बताएका छन्।

रूसविरूद्ध युक्रेनलाई अमेरिकासँगै युरोपेली देशहरूले पनि सहयोग गर्दै आएका छन्। युरोपेलीहरूले फाइदा लिएको तर अमेरिकाले केही नपाएको भनेर ट्रम्पले युक्रेनसँग खनिज सम्झौता गर्न लागेका थिए। 

खनिज सम्झौताका लागि पनि सुरुमा जेलेन्स्की तयार थिएनन् । ट्रम्पले रूस हितमा सम्झौता गर्न सक्छन् भनेर युरोपेली राष्ट्रप्रमुखहरूले जेलेन्स्कीलाई खनिज सम्झौता गर्न सुझाव दिएका थिए। सम्झौतामा हस्ताक्षर गर्न भनेरै शुक्रबार ह्वाइट हाउस छिरेका जेलेन्स्की  झगडा परेर बाहिरिएपछि यो सम्झौता पनि अन्योलमा छ।