विराटनगर- राष्ट्रिय दलित आयोगले अन्ततः सर्लाहीका सत्येन्द्रकुमार राम र नेहा रौनियारको जोडीमाथि राज्यबाट भएको अत्याचारको विषयमा बोलेको छ । उसले तटस्थ ढंगले छानबिन गरी कारबाहीको दायरामा ल्याउन नेपाल प्रहरीलाई निर्देशन दिएको छ ।
प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरलगायत उच्च अधिकारीलाई आयोगमा बोलाएर उसले उक्त मुद्दासहित दलित समुदायमाथि भइरहेका विभेदपूर्ण अन्यायका घटनामा संवेदनशील भएर कानूनी उपचारका लागि पहल गर्न निर्देशन दिएको छ ।
उक्त जोडीलाई छुटाउन खोज्ने, पक्राउ गर्ने र यातना दिनेविरुद्ध अनुसन्धान गरी कारबाही गर्न निर्देशन दिएको आयोगका प्रवक्ता सुन्दर पुर्कुटीले बताए । छलफलमा आयोगका अध्यक्ष देवराज विश्वकर्मा तथा सदस्यहरूले उक्त विषयमा प्रहरीसँग सोधपुछ गरेका थिए ।
प्रवक्ता पुर्कुटीले यो सन्दर्भमा विज्ञप्ति जारी गर्दै उनीहरूको सुरक्षामा ध्यान दिन पनि निर्देशन दिइएको भनेका छन् । यस बारेमा आयोगले चासो नदिएको भन्दै दलित अधिकारकर्मीहरूले गत आइतबार ज्ञापनपत्र बुझाएका थिए। घटना बाहिरिएको १० दिनपछि बल्ल आयोगले यो विषयमा मुख खोलेको हो।
यो प्रकरणमा गृहमन्त्रीको भूमिकाको विषयमा भने आयोगले खुलाएको छैन । पीडित सत्येन्द्रले गत २४ पुसमै आफूलाई प्रहरीले यातना दिएको र श्रीमतीलाई बेपत्ता बनाएको भन्दै आयोगमा निवेदन दिएका थिए ।