विराटनगर- नेकपा एमाले माेरङकाे नयाँ नेतृत्व चयनका लागि मनाेनयन दर्ता सुरू भएकाे छ । निर्वाचन समितिले मतदाता नामावली प्रकाशन गरेर मनाेनयन दर्ता सुरू गरेकाे हाे ।

केन्द्रीय  नेताहरूकाे सर्वसम्मत नेतृत्व चयन गर्ने निर्देशन अस्विकार गर्दै जिल्लाका नेताहरूले छुट्टाछुट्टै प्यानल बनाएर मनाेनयन दर्ता प्रक्रियामा जुटेका छन् ।

प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीकाे काेपभाजनमा परेका पूर्वकेन्द्रीय सदस्य विनाेद ढकाल पक्षलाई उचित स्थान दिन नखाेजेकाले एमाले माेरङकाे नेतृत्व चयन चुनावी प्रतिस्पर्धामा गएकाे एमाले नेताहरूकाे भनाइ छ ।

नेता ढकालकाे पक्षबाट अध्यक्षमा अजम्बर राई, उपाध्यक्षमा सागर थापा, सचिवमा साेमराज थापा, उपसचिवमा सन्ताेष वान्तवा, उषा झालगायतकाे प्यानल बनाएर मनाेनयन दर्ता प्रक्रियामा गएका छन् ।

यस्तै, संस्थापन पक्षबाट अध्यक्षमा राजकुमार ओझा, उपाध्यक्षमा शान्ति लिम्बू भुजेल, सचिवमा रविन थापा र उपसचिवमा शील्पा निराला कार्की र इर्जालाल राजबंशीलगायतकाे प्यानल बनाएर मनाेनयन दर्ता प्रक्रियामा गएका हुन् ।

जिल्ला धिवेशनले १ सय ६५ सदस्यीय नयाँ नेतृत्व चयन गर्नेछ । जिल्ला अधिवेशनका लागि मोरङका १७ वटा स्थानीय तहका १ सय ५९ वडाबाट ६ सय ९२ जना, २३ वटा जनवर्गीय संगठनबाट १ सय १ जना, विशेष क्षेत्रबाट २४ जना, दलित ५१ जना र मनोनित ४६ गरी ९ सय ११ जना प्रतिनिधि मतदाता छन् ।