विराटनगर  । कोशी प्रादेशिक क्रिकेट संघको आयोजनामा प्रधानमन्त्री कप–२०८१ छनोट प्रतियोगिताको  सोमबार भएको खेलमा सुनसरी र इलाम विजयी भएको छ ।

वैजनाथपुर क्रिकेट मैदानमा भएको खेलमा सुनसरीले झापालाई ४ विकेटले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको झापाले निर्धारित ४३ ओभरको खेलमा २४ दशमलव ३ बलमा सबै विकेट गुमाई ६३ रनको सामान्य स्कोरमा सिमित भएको छ । झापाकालागि आशिष राना मगरले सर्वाधिक १३ रनको योगदान दिए । सुनसरीका प्लेयर अफ द म्याच प्रकाश कार्कीले ३ विकेट लिँदा भुपाल लुइटेलले २ विकेट लिए ।

६४ रनको सामान्य लक्ष्य पछ्याएको सुनसरीले २५ दशमलव २ बलमा ६ विकेट गुमाई उक्त लक्ष्य पूरा गरेको थियो । सुनसरीको जितमा सुमन घतानीले अविजित २८ रनको योगदान दिए । झापाका सिद्धान्त कमितले ३ विकेट लिए ।

मेरिवोन ज्वाला विराटनगर क्रिकेट मैदानमा भएको खेलमा इलामले उदयपुरलाई १२ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको इलामले निर्धारित ४५ ओभरको खेलमा ३६ दशमलव ४ बलमा सबै विकेट गुमाई १ सय ६५ रनको योगफल बनायो । इलामको जितमा शिवान्स बजगाईले सर्वाधिक ४० रनको योगदान दिए । उदयपुरका सोनु अन्सारीले ३ विकेट लिए । 

१ सय ६६ रनको विजयी लक्ष्य पाएको उदयपुरले ३९ दशमलव ५ बलमा सवै विकेट गुमाई १ सय ५३ रनमा सिमित भयो । उदयपुरका प्रभात किरणले ३३ रनको योगदान दिँदा सोनु अन्सारीले २८ रनको योगदान दिए । इलामका प्लेयर अफ द म्याच इलामका विशाल आचार्यले ३ विकेट लिँदा हेमन राई, सन्दिप ढुंगाना र वि कामतले २÷२ विकेट लिए ।

लिगको आधारमा खेलाइएको खेलमा कोशी प्रदेशका मोरङ, झापा, सुनसरी, इलाम र उदयपुर गरी ५ टिम सहभागि छन् ।