विराटनगर  । कोशी प्रादेशिक क्रिकेट संघ कोशी प्रदेशको आयोजनामा भइरहेको प्रधानमन्त्री कप–२०८१ छनोट प्रतियोगिताको मंगलबार सम्पन्न खेलमा मोरङ र झापा विजयी भएको छ ।

वैजनाथपुर क्रिकेट मैदानमा भएको खेलमा मोरङले इलामलाई  १ सय ७६ रनको विशाल अन्तरले पराजित गरेको छ । जितपछि मोरङले २ खेलमा जित निकाल्दै ४ अंकका साथ शिर्ष स्थानमा छ भने इलामले ३ खेलमध्ये एउटामा मात्रै जित निकाल्दै २ अंकका साथ चौथो स्थानमा भmरेकोे छ । टस जितेर ब्याटिङ गरेको मोरङले निर्धारित ४५ ओभरमा ९ विकेट गुमाई २ सय १८ रनको योगफल तयार पारेको थियो । मोरङकालागि सकिव हकले ४५ रन बनाउँदा चिराग साहले ४१, सन्तोष चौधरीले ३७ रन र फिर्दोस अन्सारीले २१ रनको योगदान दिए । इलामका  सुयोग भट्टराई, हेमन राई र विशाल आचार्यले २–२ विकेट लिए ।

२ सय १९ रनको लक्ष्य पछ्याएको इलामले १४ दशमलव ४ बलमा सबै विकेट गुमाई ४२ रनमा सिमित भयो । इलामका सन्दिप ढुंगानाले सर्वाधिक १३ रनको योगदान दिए । मोरङका प्लेयर अफ द म्याच  महबुब बाबु इराकीले ३ विकेट लिँदा मिनस थापाले ३ विकेट लिए ।

मेरिवोन ज्वाला विराटनगर क्रिकेट मैदानमा भएको खेलमा झापाले उदयपुरलाई  ६ विकेटले पराजित गरेको छ । दुई खेलमा यो पहिलो जित निकाल्दै झापाले अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ भने तीन खेल खेलेका उदयपुरले सबै खेल गुमाएर अंक तालिकाको पुछारमा पुगेको छ । सुरुमा ब्याटिङ गरेको उदयपुले निर्धारित ५० ओभरको खेलमा ४३ दशमलव २ बलमा सबै विकेट गुमाई १ सय ५१ रनको योगफल बनायो । उदयपुरका आशिष भट्टराईले सर्वाधिक ८१ रनको योगदान दिए । झापाका प्लेयर अफ द म्याच  समिच कार्कीले ४ विकेट लिँदा सिद्धान्त कुमालले ३ विकेट दिए ।
 
 १ सय ५२ रनको विजयी लक्ष्य पाएको झापाले ३९ दशमलव ५ बलमा ४ विकेट गुमाई सो विजयी लक्ष्य पार गरेको थियो । झापाको जितमा दिपु भुजेलले अविजित ५१ रनको योगदान दिँदा सुजन थपलियाले ४३ रनको योगदान दिए । उदयपुरका दिपकराज जोशीले २ विकेट लिए । लिग चरणको खेलमा कोशी प्रदेशका मोरङ, झापा, सुनसरी, इलाम र उदयपुरगरि ५ टिम सहभागि छन् ।