विराटनगर–  विराट गोल्डकपको बुधबार भएको तेस्रो खेलमा विभागीय टिम त्रिभूवन आर्मी क्लब विजय भएको छ । विराटनगरस्थित सहिद रंगशालामा जारी ९ औं संस्करणको विराट गोल्डकप आर्मी क्लबले आयोजक टिम रिजालको मोरङ एफसीलाई १–० गोलले पराजित गर्दै सेमिफाइनलमा पुगेको छ । 

जितको लागि आर्मी क्लबका निरज चौधरीले गोल गर्दै बुधबारको खेलको नायक बने । उनले पहिलो हाफको ३७ औँ मिनेटमा गरेको गोल नै निर्णायक रहयो । पथेमन गलेले मध्य भागबाट निकालेको क्रस पासलाई निरजले आकर्षक गोलमा परिणत गरेका थिए । 

पहिलो गोलपछि दबाबमा परेका रिजालको मोरङ खेलभरि संघर्षरत रहयो । तर सफल हुन सकेन । दुवै टिम आक्रामक देखिए पनि डिफेन्सलाइनको कमजोरीमा रिजालको मोरङ पहिलो हाफमा १–० ले पछि पर्यो । प्रतियोगिताको प्लेर अफ द म्याच आर्मीका गोल रक्षक विकेस कुथु घोषित भए । उनले नगद ११ हजार प्राप्त गरेका हुन् ।  

विराट गोल्डकपको चौँथो खेल बिहीबार सशस्त्र प्रहरी बल (एपीएफ) र नेपाल पुलिस क्लबबीच हुनेछ ।