काठमाडौँ — विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकलाई अब नेपालका बैंक तथा वित्तीय संस्थामा अनलाइनमार्फत खाता खोल्न सजिलो भएको छ । नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको परिपत्रअनुसार विदेशमा रहेका नेपालीले अनलाइनमार्फत राष्ट्रिय परिचयपत्र वा त्यसको नम्बरबाहेक अन्य आवश्यक कागजात पेश गरेर पनि बैंक खाता खोल्न सक्नेछन् ।
नयाँ व्यवस्था अनुसार यसरी खोलिएका खातामा खातावाल नेपाल फर्किएपछि ३५ दिनभित्र सम्बन्धित बैंक वा वित्तीय संस्थाले राष्ट्रिय परिचयपत्रको विवरण लिई अद्यावधिक गर्नुपर्नेछ । राष्ट्र बैंकको निर्देशनले सेवा सुविधा विस्तार गर्दै असक्त, अशक्त तथा आफ्नो हेरचाह आफैं गर्न नसक्ने नागरिकलाई समेत राष्ट्रिय परिचयपत्र वा त्यसको नम्बरबाहेक अन्य आवश्यक कागजातमार्फत बैंक खाता खोल्न र कारोबार गर्न अनुमति दिएको छ । नयाँ निर्देशिका अनुसार बैंकिङ पहुँच बढाउन र विदेशमा रहेका नेपाली तथा विशेष अवस्थाका व्यक्तिहरूलाई समावेशी बनाउने उद्देश्य राखिएको जनाइएको छ ।