विराटनगर– भुटानबाट निष्कासित भइ नेपाल हुँदै अमेरिका पुगेका २० जना पूर्वभुटानी शरणार्थी हालसम्म अमेरिकाबाट डिपोर्ट भइसकेका छन्। तीमध्ये चार जना मात्रै नेपालमा फेला परेका छन् भने बाँकीको अवस्था अज्ञात छ।
भुटान पिपुल्स पार्टीका अध्यक्ष बलराम पौडेलका अनुसार अमेरिका सरकारले चार चरणमा गरी ती शरणार्थीहरूलाई डिपोर्ट गरेको हो। पहिलो चरणमा १०, दोस्रोमा ३, तेस्रोमा २ र पछिल्लो पटक ५ जनालाई अमेरिका फर्काएको उनले जानकारी दिए। तर डिपोर्ट गरिएका सबैलाई भुटानले पुनः स्वीकार नगरेपछि उनीहरू फेरि अलपत्र परेका छन्।
पौडेलका अनुसार अमेरिकाबाट डिपोर्ट भएर भुटान पुगे पनि उक्त मुलुकले उनीहरूलाई पुनः देश निकाला गरेको छ। त्यसपछि तीमध्ये चार जना नेपालमा पक्राउ परेका थिए। उनीहरूलाई लामो समय हिरासतमा राखिएपछि सर्वोच्च अदालतको आदेशअनुसार थुनामुक्त गरिएको हो।
हाल ती चार जनालाई सम्बन्धित नगरपालिकाभित्र मात्र आवतजावत गर्न इजाजत दिइएको छ। उनीहरूलाई हरेक साता नजिकको प्रहरी कार्यालयमा हाजिर हुनुपर्ने कानुनी शर्त लागु गरिएको छ।
त्यसबाहेक तीन जना पूर्वशरणार्थीलाई अमेरिकामै नियन्त्रणमा राखिएको बताइएको छ भने बाँकीको हालसम्म अत्तोपत्तो छैन।