कैलाली — यो कथा केवल एक परिवारको हैन—यो कथा हो त्यो हरेक आमाबाबुको, जो सानो गाउँबाट पनि ठूलो सपना देख्छन् र त्यो सपना आफ्ना सन्तानको पढाइ र परिश्रमबाट पुरा गर्छन्।

अछामको विकट रामारोसन क्षेत्रको सानो गाउँ बाटुलासैनका शिक्षक देवानन्द न्यौपाने र गृहिणी पारु न्यौपानेका सपना कहिल्यै सहरको उज्यालो देख्न पाएका थिएनन्। सात सन्तान हुर्काउँदै गर्दा जीवनको प्रत्येक दिन उनीहरूका लागि संघर्षको कथा थियो। तर आज उनीहरूको त्यो संघर्ष सफलता र सम्मानको उज्यालोमा परिणत भएको छ।

न्यौपाने दम्पतीका तीन छोरा अहिले नेपाल प्रहरीमा अफिसर छन्। जेठो छोरा सिद्धराज न्यौपाने पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का पीएसओ हुन्। उनी डीएसपी हुन् । माहिलो छोरा डीएसपी केशर न्यौपानेले सल्यान जिल्ला प्रहरी कार्यालयको कमाण्ड सम्हालिरहेका छन् भने कान्छा छोरा मुकेश न्यौपाने रुपन्देहीको इलाका प्रहरी कार्यालय बेलैयामा निरीक्षकका रूपमा खटिएका छन्।

यही परिवारका अर्का छोरा चन्द्रप्रकाश न्यौपाने इन्जिनियर छन् भने छोरी कविता न्यौपाने दार्चुला अस्पतालमा कार्यरत चिकित्सक हुन्। गाउँकै विद्यालयबाट प्रारम्भिक शिक्षा लिएका यी सन्तानहरूको संघर्ष, लगनशीलता र समर्पणकै कारण न्यौपाने परिवार आज उदाहरणीय बनेको छ।

‘छोराहरूले आफ्नो बलबुताले यस्तो स्थान बनाए, मेरो त कोही चिनजानको मान्छे थिएन,’ देवानन्द न्यौपाने भन्छन्, ‘अहिले सम्झिँदा गर्व लाग्छ।’ राजनीतिक पहुँच, सहरको सहजता र सुविधाबाट टाढा रहेका यस परिवारको यो उपलब्धि केवल मेहनत र शिक्षाको शक्तिका कारण सम्भव भएको हो। उनीहरू अहिले अछामबाट कैलालीको जानकी गाउँपालिका, बन्देवीपुरमा बसोबास गर्छन्।