काठमाडौँ– केही वर्षअघिसम्म प्रभावशाली व्यवसायीका रूपमा चिनिएका अजेयराज सुमार्गी अहिले गम्भीर आर्थिक संकटमा परेका छन्। कर नतिर्नुका साथै बैंक ऋण चुक्तामा समेत चासो नदेखाएपछि सरकार र बैंक दुवैले सम्पत्ति लिलामीसहित कानुनी कारबाही प्रक्रिया अघि बढाएका छन्।

भर्खरै मात्र आन्तरिक राजस्व कार्यालयले कर नतिरेको भन्दै सम्पत्ति रोक्का तथा लिलामीको चेतावनी दिएको थियो। त्यहीबीच प्रभु बैंकले पनि सुमार्गीको कम्पनी मुक्तिश्री हस्पिटालिटीलाई दिएको ऋण ३५ दिनभित्र फिर्ता गर्न ‘अल्टिमेटम’ दिएको छ। तोकिएको समयभित्र ऋण नतिरेमा धितो लिलामी प्रक्रिया अघि बढाइने चेतावनी बैंकले दिएको छ।

बैंकका अनुसार मुक्तिश्री हस्पिटालिटी र नेपाल चर्चिल होटलको संयुक्त नाममा डिल्लीबजार मालपोत कार्यालयमा दर्ता भएको ८ रोपनी १ आना जग्गा लिलामी गरिनेछ। बैंकले पटक–पटक मौखिक तथा लिखित ताकेता गर्दा पनि ऋण तिर्न चासो नदेखाएको आरोप लगाएको छ।

मुक्तिश्री हस्पिटालिटी सन् २०१३ मा पाँचतारे होटल निर्माण गर्ने उद्देश्यले दर्ता भएको कम्पनी हो। कम्पनीले काठमाडौँ–५ मा ५ अर्ब रुपैयाँ लगानीमा २५० कोठे होटल निर्माण गर्ने योजना सार्वजनिक गरेको थियो। तर हालसम्म होटल निर्माण सुरु नै भएको छैन।

यसैबीच सुमार्गीको स्वामित्वमा रहेको मुक्ति श्री प्रालिले २० करोड ३५ लाख रुपैयाँभन्दा बढी कर तिर्न बाँकी रहेको आन्तरिक राजस्व विभागले जनाएको छ। कर नतिरेमा बैंक खाता, घरजग्गा रोक्का गर्ने र मुलुक बाहिर जान रोक लगाउने चेतावनीसमेत दिइएको छ।

यही बक्यौता र अनुपालन नहुँदा सुमार्गीको अर्को कम्पनी नेपाल स्याटलाइट टेलिकम (हेलो नेपाल) को लाइसेन्स नवीकरण शुल्क तिर्न नसक्दा सरकारले खारेज गरिसकेको छ। राजनीतिक पहुँच भएका सुमार्गीले विगतमा ट्याक्स हेभन मुलुक भर्जिन आइल्यान्डमार्फत स्रोत नखुलेको विदेशी लगानी नेपाल भित्र्याएको आरोप लाग्दै आएको थियो।

उनले नेपाल राष्ट्र बैंकमा रोक्का गरिएको झण्डै ४ अर्ब रुपैयाँ निकासा गर्न माग गर्दै सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए। सन् २०१० मा साइप्रसबाट आएको ३ करोड ८५ लाख अमेरिकी डलरसमेत विवादित बनेको थियो। सुमार्गीका लागि आर्थिक समस्याले गहिरिँदै जाँदा राज्यका निकायहरूले कठोर कदम चाल्न थालेका छन्।

चरम आर्थिक संकटले सञ्चारकर्मीलाई तलब खुवाउन समेत कठिन भइरहेकाले सुमार्गीले थाहा मिडिया ग्रुप समेत बन्द गर्न खोजे पनि उक्त ग्रुपकी अध्यक्ष एवं श्रीमती अस्मिता सुमार्गीले नमानेको स्रोतले जनाएको छ । मिडिया बन्द गर्दा प्रभाव घटेर सरकारको दबाब झनै बढ्ने अस्मिताको बुझाइ रहेको स्रोतको भनाइ छ ।