विराटनगर– भारतको अयोध्यास्थित राम जन्मभूमीमा रामको मन्दिर निर्माण थाल्ने कामेश्वर चौपालको निधन भएको छ । 

श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टको सदस्यसमेत रहेका चौपालको शुक्रबार दिल्लीस्थित एम्स अस्पतालमा उपचारको क्रममा निधन भएको हो । उनको पार्थिव शरीरलाई गृह नगर सुपौल जिल्लाको कमरैल ल्याएर शनिबार दिउँसो अन्तिम संस्कार गरिएको छ । 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चौपालको निधनप्रति शोक व्यक्त गरेका छन । ‘भारतीय जनता पार्टीको वरिष्ठ नेता तथा राम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टको ट्रस्टी कामेश्वर चौपालजीको निधनले अत्यन्तै मर्माहत बनाएको छ,’ उनले भने, ‘उहाँ एउटा अनन्य रामभक्त हुनुहुन् थियो, अयोध्यामा राम मन्दिरको निर्माणमा उहाँको अमूल्य योगदान रहेको छ । उहाँको निधनले भाजपा, ट्रष्ट र राम जन्मभूमिलाई अपूर्णीय क्षति पुगेको छ ।’

उनको जन्म २४ अप्रिल १९५६ मा भएको थियो । चौपालले जेएन कॉलेज मधुबनीबाट स्नातक र मिथिला विश्वविद्यालय दरभंगाबाट स्नात्कोत्तर उतिर्ण गरेका थिए । उनी भारतीय जनता पार्टीमा सक्रीय राजनीतिमा रहेकाले सन् २००२ देखि २०१४ सम्म विहार विधान परिषद् सदस्य रहेका थिए । 

चौपालले ९ नोभेम्बर १९८९ मो अयोध्यास्थित राम जन्मभूमि क्षेत्रमा राम मन्दिर निर्माणको लागि पहिलो इँटा राखेका थिए । राम मन्दिर निर्माणका लागि इँटा राख्नु त्यो बेलाको ऐतिहासिक कार्य थियो । त्यो बेला उनी विश्व हिन्दू परिषद्को सह संगठन मन्त्रीको भूमिकाम रहेको र पछि राम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टको सदस्यसमेत बन्नु भएको थियो ।

चौपालको निधनले राम मन्दिर आन्दोलन र भारतीय राजनीतिको महत्वपूर्ण अध्याय समाप्त भएको  उनको अन्तिम यात्राका सहभागीहरुको भनाइ थियो ।  विहार सरकारका लोक स्वास्थ्य अभियन्त्रण विभागमन्त्री नीरज सिंह बब्लू, ऊर्जा मन्त्री बिजेन्द्र प्रसाद यादव, विजेपी विहार अध्यक्ष डा. दिलीप जयसवाललगायतले चौपालको पार्थिव शरीरलाई श्रद्धाञ्जली दिन आएका थिए । 

मन्त्री यादवले कामेश्वर चौपालको जन्म गरीव परिवारमा हुँदा पनि उहाँले समाजको हितमा अत्यन्तै धेरै योगदान गरेर जानु भएको बताएका छन् । विहार अध्यक्ष जयसवालले उहाँको निधनले अपूर्णीय क्षति पुगेको बताए । उनले चौपालले सधैं धार्मिक काम अगाडि रहने गरेको सुनाए ।