विराटनगर । प्रथम कोशी प्रदेश खेलकुद महोत्सव २०८१ को प्रदेशस्तरीय महिला फुटवल प्रतियोगिताको उपाधि झापा जिल्लाले जितेको छ। विराटनगरस्थित शहिद रंगशालामा सम्पन्न प्रतियोगिताको सन्ध्याकालीन फाईनल खेलमा पाँचथर जिल्लालाई ३–० गोल अन्तरले पराजित गर्दै झापाले प्रतियोगिताको उपाधि जितेको हो।
खेलको सुरुवात देखिनै पाँचथरमाथि हाबी रहेको झापाले खेलको पहिलो हाफमै जेनिफर मगरको गोलको सहायताले खेलमा अग्रता लिएको थियो। खेलको दोस्रो हाफमा पूर्णिमा राई र जेनिफर मगरले एक÷एक गोल थप्दै झापाको जित सुनिश्चित गरेका थिए ।
प्रतियोगिताको फाईनल खेलको ‘वुमन अफ द म्याच ‘ झापाकी मनिता तुम्रुक र प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी तथा सर्वाधिक गोलकर्ता झापाकी जेनिफर मगर भइन् । प्रतियोगिताभरि मगरले ६ गोल गरिन् ।
प्रतियोगिताको उत्कृष्ट गोलकिपर झापाकी सुशीला चौधरी , उत्कृष्ट डिफेन्स झापाकी नेहा चौधरी, उत्कृष्ट मिडफिलडर झापाकी सिम्रन राई, उत्कृष्ट स्ट्राइकर झापाकी पूर्णिमा राई र उत्कृष्ट प्रशिक्षक झापाका शान्तबहादुर रायमाझी घोषित भए । उपाधि सहित झापाले ट्रफी, मेडल, प्रमाणपत्र र नगद १ लाख प्राप्त गर्दा उपविजेता पाँचथरले ट्रफी, मेडल, प्रमाणपत्र र नगद ५० हजारमा चित्त बुझाए।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी भएकी मगरले ट्रफी र नगद २० हजार र अन्य विधाका उत्कृष्ट खेलाडीले ट्रफी र जनही १० हजार नगद पुरस्कार प्राप्त गरे । विजेता लगायत उत्कृष्ट खेलाडीहरुलाई कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगर, सामाजिक विकासमन्त्री पाँचकर्ण राई, राज्यमन्त्री सिर्जना राई, खेलकुद विकास बोर्डकी उपाध्यक्ष विन्दिया कार्की र सदस्य सचिव कृष्ण बस्नेतले ट्रफी, मेडल र पुरस्कार हस्तान्तरण गरेका थिए ।
फागुन १३ गतेबाट सुरु भएको खेलकुद महोत्सवमा प्रदेशस्तरीय महिला फुटबल, महिला तथा पुरुष दौड , पुरुष कब्बड्डी , भेट्रान बाघचाल , महिला तथा पुरुष टेबलटेनिस, महिला तथा पुरुष बुद्धिचाल, महिला तथा पुरुष कराते, महिला तथा पुरुष तेक्वान्दो, पुरुष सफ्टटेनिस र डोरीतान लगायत भएको थियो।