काठमाडौँ —नेपाल शिक्षक महासंघले सरकारलाई थप दबाब दिन सोमबारदेखि शैक्षिक हडतालको घोषणा गरेको छ ।

२० चैतदेखि सुरु भएको काठमाडौँ केन्द्रित आन्दोलनलाई  अझ सशक्त बनाउने रणनीति अनुरुप महासंघ अघि बढेको छ ‌। आन्दोलनको यो नयाँ स्वरूपमा देशभरिका विद्यालय बन्द गरिनेछ । 

शिक्षक–कर्मचारीलाई काठमाडौंको शैक्षिक सडक आन्दोलनमा अनिवार्य सहभागी हुन महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले आग्रह पनि गरेका छन्।

उक्त अवधिमा उत्तर पुस्तिका परीक्षण, नतिजा प्रकाशन, तालिम गोष्ठी, सेमिनार, शैक्षिक भ्रमण जस्ता कुनै पनि काममा संलग्न नहुन महासंघले सबै शिक्षकहरुलाई भनेको छ ।

महासंघद्वारा आइतबार जारी विज्ञप्तिमा यो आन्दोलनप्रति ऐक्यवद्धता प्रकट गरी दिनुहुन विद्यार्थी, अभिभावक र शिक्षा क्षेत्रसँग सम्बन्धित सबै सरोकारवाला पक्षसँग आग्रह गरिएको छ ।

शिक्षा ऐन जारी गर्नका लागि महासंघ निरन्तर आन्दोलनमा छ । सरकारसँग औपचारिक संवाद गर्न अस्वीकार गर्दै नेपाल शिक्षक महासंघले बुधबारदेखि काठमाडौंमा सडक आन्दोलनलाई निरन्तरता दिएको छ ।

शिक्षक काठमाडौं केन्द्रित आन्दोलनमा सहभागी हुँदा विद्यालयको शैक्षिक गतिविधि र एसईईको उत्तरपुस्तिका परीक्षण कार्यसमेत प्रभावित भएको छ ।

शिक्षा मन्त्रालयले सार्वजनिक अपिल र पत्राचार गर्दै वार्तामा बस्न आह्वान गरे पनि महासंघले भने ऐन जारी गराउनु आन्दोलनको एक मात्र लक्ष्य भएको अडान राखेको छ ।

 चैत १८ मा एसईई परीक्षा सकिएर उत्तरपुस्तिका संकलन भइरहेको छ । शिक्षक आन्दोलन नरोकिए एसईईको उत्तरपुस्तिका परीक्षणमा समेत ढिलाइ हुने शिक्षा मन्त्रालयले जनाएको छ । राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा असार पहिलो साता सार्वजनिक गर्ने कार्यतालिका तय गरेको छ ।