विराटनगर– ‘जीवनदेखि हार खाएँ। छोराछोरीका लागि केही गर्न सकिनँ…’

सामान्य कागजको टुक्रामा लेखिएका यी केही शब्दहरू, जो एक आम नेपाली आमाको अन्तिम श्वाससँगै हराए। ती शब्दहरू लेख्ने महिला थिइन् — रोशनी शाही, जसको जीवन कहिल्यै सहज थिएन। जसले कहिल्यै ठूलो कुरा मागिनन्, तर न्यायका लागि भने निहत्थै संसारसँग भिडिन्।

आइतबार दिउँसो भक्तपुरको बालकोटस्थित एक सानो डेराको भुइँमा उनी चुपचाप लम्पसार परेकी भेटिइन् — जीवनको अन्तिम अध्याय लेखेर। प्रहरीका अनुसार उनी भित्रैबाट चुकुल लगाएर सुतेकी थिइन्। कोठा नखुलेपछि घरधनीले प्रहरी बोलाए, जनप्रतिनिधिको रोहबरमा ढोका फोरेर जाँदा — रोशनीको निस्पन्द शरीर भेटियो। साथमा भेटियो एउटा सुसाइड नोट।

सुसाइड नोटमा उनले कसैलाई दोष दिएकी थिइनन्। तर शब्दहरूले उनको थकान, विवशता र गहिरो घाउ झल्काइरहेका थिए। ‘छोराछोरीका लागि केही गर्न सकिनँ…’ भन्ने एक वाक्यमा एउटा आमाको असहायता झल्किएको थियो। संसार जित्ने सपना देखाउने आमाको हात जब रित्तिन्छ, तब उनीहरू भत्किन्छन् — चिच्याउन नसकी, रोएर बाँच्न नसकी, चुपचाप बिलाउँछन्।

शाहीले केही वर्ष अगाडि तत्कालीन सभामुख तथा माओवादी नेता कृष्णबहादुर महराविरुद्ध जबर्जस्ती करणीको गम्भीर आरोप लगाएकी थिइन्। त्यो मुद्दाले देशभर बहस ल्याएको थियो। न्यायका लागि भिड्ने उनको आँटलाई सराहना गर्नेहरू थुप्रै थिए। तर मुद्दाको उतारचढावपछि उनी पुनः सामान्य जीवनमा फर्किन सकिनन्।

उनी केही समययता आफ्ना श्रीमानबाट टाढा, डेरामा एक्लै बस्दै आएकी थिइन्। परिवारसँगको दूरी, समाजको उपेक्षा र व्यवस्था प्रति चिसोपनले उनलाई भित्रभित्रै मार्दै गयो।

डीएसपी ढुण्डिराज नेउपानेका अनुसार उनको शरीरमा कुनै चोटपटक छैन। पोष्टमार्टम रिपोर्टको प्रतीक्षा गरिँदैछ। सुसाइड नोटमा ‘कोही दोषी छैनन्’ भनेजस्तै लेखिएको भए पनि त्यो चुपचाप रोएको आवाज हो — जसले समाज, राज्य र हामी सबैलाई घच्घच्याउँछ।

यो आत्महत्या होइन, एक आवाजको थुनिएको मृत्यु हो — जसले एक दिन न्याय मागेकी थिइन्, अनि आज आफ्नो मौनतामा न्यायको मूल्य तिरिरहेकी छन्।

द नेप्लिज डटकमको आग्रह
✍ यदि तपाईं या तपाईंको चिनेजानेकालाई मानसिक तनाव वा आत्महत्याका भावना सताइरहेका छन् भने तुरुन्त विशेषज्ञसँग सम्पर्क गर्नुहोस्। घरको चौघेराबाट बाहिर निस्कनु होस् र तपाईं एक्लो हुनुहुन्न भन्ने महसुस गर्नुहोस् ।

# रोशनी #शाही#सुसाइड# नोट