विराटनगर— चन्द्रमामा आणविक ऊर्जा केन्द्र निर्माण गर्न चीन र रुसबीच सम्झौता भएको छ। उक्त आणविक केन्द्रले दुई देशको संयुक्त नेतृत्वमा स्थापना हुन लागेको अन्तर्राष्ट्रिय चन्द्रमा अनुसन्धान केन्द्र लाई ऊर्जा आपूर्ति गर्नेछ। परियोजना सन् २०३६ सम्म सम्पन्न हुने अपेक्षा गरिएको छ।

सम्झौता सम्बन्धी विवरणमा उल्लेख भएअनुसार चिनियाँ र रूसी पक्षबीच सहयोग सम्झौतामा हस्ताक्षर भएको हो। यो घोषणा अमेरिकाको अन्तरिक्ष संस्था नासाले आफ्नो सन् २०२६ को बजेट प्रस्ताव सार्वजनिक गरेपछि आएको हो। विभिन्न समाचार स्रोतहरूका अनुसार यससँगै चन्द्रमाको कक्षमा आधार निर्माण गर्ने नासाको योजना प्रभावित हुने देखिएको छ।

रूसी सरकारी सञ्चालित समाचार संस्था टासले सन् २०२४ मा प्रकाशित गरेको अन्तर्वार्तामा रूसी अन्तरिक्ष निकाय रोस्कोसमोसका प्रमुख युरी बोरिसोव ले चीन–रुस संयुक्त रिएक्टर परियोजना मानवरहित र स्वचालित प्रविधिबाट सम्पन्न गरिने बताएको थियो । त्यसलाई कार्यान्वयन गर्ने स्पष्ट प्रविधिक विवरण भने अझै बाहिर आएको छैन। टासले भनेको छ, ‘प्राविधिक तयारीहरू लगभग अन्तिम चरणमा छन्।’

रोस्कोसमोसले जेठ २६ मा सम्झौता हस्ताक्षरपछिको विज्ञप्तिमा भनेको छ, ‘अन्तरिक्ष अनुसन्धान केन्द्रले मौलिक अनुसन्धान गर्नेछ, दीर्घकालीन मानवरहित सञ्चालनका प्रविधिहरूको परीक्षण गर्नेछ र चन्द्रमामा मानव उपस्थितिको सम्भावनालाई बलियो बनाउनेछ।’

हालसम्म उक्त केन्द्रले इजिप्ट, पाकिस्तान, भेनेजुएला, थाइल्यान्ड र दक्षिण अफ्रिकासहित १७ देशलाई आकर्षित गरिसकेको छ। यसको आधारभूत संरचना निर्माणको जिम्मा चीनको सन् २०२८ मा प्रक्षेपण हुने चाँगई–८ अभियान ले लिनेछ। यस अभियानमार्फत चीनले पहिलोपटक चन्द्र सतहमा अन्तरिक्ष यात्रीहरू अवतरण गराउने लक्ष्य राखेको छ।

अन्तर्राष्ट्रिय चन्द्र अनुसन्धान केन्द्रको खाका पहिलोपटक सन् २०२१ को जुनमा सार्वजनिक गरिएको थियो। योजनाअनुसार चीन र रुसले सन् २०३० देखि २०३५ भित्र पाँचवटा ठूलो क्षमताका रकेट प्रक्षेपण गरी चन्द्र सतहमा यान्त्रिक आधारका खण्डहरू पठाउनेछन्।

चीनको चन्द्र अन्वेषण कार्यक्रमका प्रमुख योजना निर्माता वु यानहुआ ले सन् २०२४ मा सरकारी सञ्चार संस्था सिन्ह्वालाई दिएको अन्तर्वार्तामा भनेका थिए, ‘एकपटक आधारभूत संरचना तयार भएपछि चीनले थप प्रक्षेपणमार्फत त्यसलाई विस्तार गर्नेछ। यो आधारलाई चन्द्रमाको कक्ष, विषुवत् रेखा र चन्द्रमाको टाढाको भागसम्म जोडिने बनाइनेछ।’

समाचारअनुसार यो विस्तारित मोडेल सन् २०५० सम्ममा मंगल ग्रहमा मानवीय अवतरणको पूर्वाधारका रूपमा उपयोग गरिने अपेक्षा गरिएको छ। वुका अनुसार आधारले सौर्य ऊर्जा, विकिरणजन्य पदार्थ र आणविक उपकरणहरूबाट शक्ति प्राप्त गर्नेछ। यसमा चन्द्र–पृथ्वी उच्च गतिको सञ्चार प्रणाली, हपर्ने यन्त्र, टाढा पुग्नसक्ने यान्त्रिक सवारी साधन, तथा दबाबयुक्त र सामान्य मानव सवारी साधनहरू समेत प्रयोग गरिनेछन्।

#चन्द्रमा#मा #आणविक# ऊर्जा #केन्द्र